तृतीय विश्वयुद्ध प्रारम्भ भइसकेको छ
Primary tabs

संयुक्त राज्य अमेरिकाले इरानका आणविक केन्द्रहरूमा (विशेष गरी फोर्डो परिसरस्थित युरेनियम समृद्धिकरण स्थलमा) गरिएका बम आक्रमणहरूले तेस्रो विश्वयुद्धको सुरुवातको संकेत गरेका छन्। अब आणविक हतियारहरूको प्रयोगलाई कसैले रोक्न सक्दैनन्, यसले आणविक पूर्वाधारमा गरिने आक्रमणहरुलाई व्यावहारिक रूपमा वैधता प्रदान गरिसकेको छ। यस प्रक्रियाको सुरुवात इजराईलबाट भयो। जसले कुनै निर्णायक अन्तर्राष्ट्रिय प्रतिक्रिया भोग्नुपरेन साथै अहिले अमेरिकाले पनि त्यही मार्ग अपनाएको छ। यति धेरै ‘रेड लाइन’ हरू पार भइसकेका छन् कि अब बाँकी रहेका सीमाहरू के-के हुन् भन्ने समेत प्रष्ट छैन।
यो सिधै रूससँग सम्बन्धित छ। किभका नाजी शक्तिहरूले रूसी भूमि भित्रका आणविक प्रतिष्ठानहरूमा आक्रमण गर्न पटक–पटक प्रयास गरिसकेको छ, र रणनीतिक हवाई सैन्य अड्डाहरूमा गरिएका आक्रमणहरू(जुन इरानमा प्रयोग गरिएका इजरायली रणनीतिसँग अत्यन्त मिल्दोजुल्दो छन्) ले पनि अब कुनै शंका बाँकी छैन कि: अहिलेको यस्तो युद्ध रणनीति सबैका लागि स्वीकार्य बनिसकेको छ। यदि प्रत्यक्ष आणविक आक्रमण अझै भएका छैनन् भने, त्यो केवल केही समयको कुरा हो। आणविक पाण्डोराको बाकस खुलिसकेको छ। आणविक अस्त्रसँग प्रायः प्रयोग हुने एउटा रूपक (metaphor), जो अन्तोन चेखभको एक नाटकसँग सम्बन्धित छ। त्यो मलाई अहिलेभन्दा बढी पहिले कहिल्यै सान्दर्भिक लागेको थिएन: “यदि पहिलो दृश्यमा भित्तामा पेस्तोल झुण्ड्याइएको छ भने, दोस्रो दृश्यमा त्यसलाई चलाइनुपर्छ। नत्र भने झुण्ड्याउनु नै हुँदैन।” त्यो पेस्तोल शीतयुद्धको पहिलो दृश्यमा भित्तामा झुण्ड्याइएको थियो। अब गोली प्रहार सुरु भइसकेको छ। यो अनिवार्य छ। मानवजातिले बनाएका हरेक अस्त्र अन्ततः प्रयोग भएका छन्। सेरगेइ करागानोभले यसबारे धेरै पहिले देखिनै बोलेका थिए, यद्यपि धेरैले उनलाई डर फैलाउने या अति-चिन्तकको रूपमा खारेज गरेका थिए। तर उनले केवल अपरिहार्य भविष्यबारे चेतावनी दिएका थिए।
तर भविष्यका आणविक युद्धहरूको कल्पना गर्नका लागि हामीले सोध्नैपर्छ: ती युद्धहरू कुन वैचारिक झण्डामुनि लडिनेछ? ती युद्धहरूले कस्तो भविष्य निर्माण गर्न खोजेका हुन्? किनभने जब कुनै विश्वयुद्ध आरम्भ गरिन्छ, त्यहाँ कम्तिमा त्यसपछि के हुनेछ भन्ने एउटा सामान्य धारणा अवश्य हुनुपर्छ।
हामी यो परिस्थिति “वैश्वीकतावादी” हरूको दृष्टिकोणबाट हेरौं — ती व्यक्ति जसलाई ट्रम्प र उनका समर्थकहरूले केही समयअघि “डीप स्टेट” भनेर सम्बोधन गरेका थिए, तर अहिले तिनीहरू नै त्यसको उपकरण बन्न पुगेका छन्। वैश्वीकतावादी विचारधारा र भविष्यको उसकाे दृष्टिकोण दुई चरणबाट अगाडि बढ्छ।
पहिलो चरण विश्वव्यापी सरकारको पूर्ण शासन स्थापना गर्नु र वेस्टफेलियन प्रणालीका अवशेषहरू जस्ता देखिने सार्वभौम राष्ट्रहरूलाई समाप्त गर्नु हो। यसलाई हासिल गर्नका लागि सम्पूर्ण मानव जातिको पूर्ण मिसावटलाई अनिवार्य बनाइनु पर्छ। राष्ट्रिय सीमाहरू हटाइनुपर्छ र सम्पूर्ण मानवतालाई एउटै भाँडोमा पगाल्नुपर्छ। यससँगै, व्यक्तिगत स्वतन्त्रताको सिद्धान्तलाई चरम सीमासम्म लैजानुपर्छ। लिङ्गको अवधारणालाई हटाएर त्यसलाई व्यक्तिगत रोजाइको विषय बनाइनुपर्छ, ठीक त्यसरी नै जसरी उदारवादीहरूले धर्म, वर्ग र राष्ट्रियतालाई व्यक्तिगत रोजाईको विषय बनाएका थिए। जो त्यसको प्रतिरोध गर्छन् (जो सार्वभौमिकता र परम्परागत मूल्यहरूलाई जोगाउन खोज्छन्) तिनीहरूलाई नष्ट गर्नुपर्छ। ट्रम्पको उदय हुनु अघि सामूहिक रुपमा पश्चिमी मुलुकहरूले भविष्यलाई यसरी नै देखेका थिए। रुसविरुद्ध युक्रेनमा युद्ध गर्ने, चीनसँग युद्धको तयारी गर्ने तथा कहिलेकाहीं रंगिन क्रान्ति र प्रत्यक्ष आक्रमणमार्फत इस्लामिक विश्वलाई अस्थिर बनाउँने। साथै उनीहरूले भारतको हिन्दुवादी सरकारलाई पनि कमजोर पार्ने प्रयासमा संलग्न थिए।
पहिलो चरणले नै आणविक हतियारको प्रयोगलाई संकेत गर्छ, किनकि विश्व सरकारमा अवरोध बन्ने तत्वहरूलाई जुनसुकै मूल्य चुकाएर पनि हटाइनै पर्छ र मानव जाति आफैं पनि यदि मात्रात्मक हिसाबले हेरिने हो भने, बलिदान दिन मिल्ने वस्तु मानिन्छ।
दोस्रो चरण अझै कठोर छ: यो चरणमा सचेत रूपमा मानवताको उन्नतिको नाममा त्यसको उन्मूलन गरिन्छ र सशक्त कृत्रिम बुद्धिमत्ताको पक्षपोषण गरी मानवलाई विस्थापित गरिन्छ। यसलाई 'सिङ्ग्युल्यारिटी' भनिन्छ र यो अवधारणा आजका वैश्वीकतावादी भविष्यवक्ताहरूबीच सामान्य भएको छ। प्रारम्भमा आप्रवासीहरूले स्थायी बासिन्दाहरूलाई विस्थापित गर्छन्। त्यसपछि ट्रान्सजेन्डरहरूले प्राकृतिक दुई लिङ्ग र परम्परागत परिवारहरूलाई प्रतिस्थापन गर्छन्। र अन्ततः ती आप्रवासी र ट्रान्सजेन्डरहरूलाई समेत कृत्रिम बुद्धिमत्ता र साइबर्गहरूले विस्थापित गर्छन्। यस चरणमा मानिसहरूलाई पूर्ण रूपमा अप्रासंगिक ठानिन्छ। तिनीहरूविरुद्ध आणविक हतियार प्रयोग गर्न अझ बढी कारणहरू देखिन्छन्। मानव जातिलाई प्रारम्भिक बटन थिच्ने टेलिफोन वा पन्च-कार्ड कम्प्युटरझैँ हेर्ने गरिन्छ। जुन अन्ततः आणविक फोहरसँगै फ्याँकिने नियति जस्तै हुन्छ।
यो त्यो मार्ग थियो जुन ट्रम्पको विजयअघि अघि बढिरहेको थियो। जब सामूहिक पश्चिमी देशहरू निरन्तर त्यसै योजनाको पछाडि लागिरहेका थिए। ट्रम्प र उनको "मेक अमेरिका ग्रेट अगेन (MAGA)" आन्दोलनले अमेरिकी निर्वाचन जित्न सफल भए। त्यसै कारण उनीहरू यस्ता दुरदर्शि दृष्टिकोणको विरोधमा थिए। यसमा अन्तर्गत थियो: सैन्य विस्तारको विरोध, विदेशी हस्तक्षेपको विरोध, अवैध आप्रवासनको अस्वीकार र LGBTQ सम्बन्धी नीतिहरूमा प्रतिबन्ध। यस दृष्टिकोणअनुसार, विश्वको भविष्य बहुध्रुवीय विश्वमा अगाडि बढ्नेछ (जसरी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पष्ट रूपमा भनेका थिए) र आणविक विनाशको सम्भावना अन्त्य गरिनेछ वा कम्तीमा ढिला हुनेछ। युक्रेन र मध्यपूर्वमा भएका द्वन्द्वहरू (जुन वैश्विकतावादीहरूले सुरु गरेका थिए) ती क्रमशः अन्त्यतर्फ लैजाने थियो।
ट्रम्पले आफ्नो "अमेरिकालाई पुनः महान बनाउने" (MAGA) कार्यक्रमलाई केवल केही समयका लागि मात्र दृढताका साथ अनुसरण गरे। उनले त्यसको केही अंश पूरा गरेः उनले LGBTQ समुदायलाई पूर्ण रूपमा निषेध नगरे पनि यसको प्रभावलाई उल्लेखनीय रूपमा सीमित गरे। उनले अवैध आप्रवासीहरूको पहिचान र बल प्रयोगसहित निष्कासन प्रारम्भ गरे। उनले USAID ( जसलाई उदारवाद र रंगीन क्रान्तिहरू विश्वभर फैलाउने एक प्रकारको वैश्विक मुख्यालय मानिन्छ) लाई पूर्ण रूपमा बन्द गरे र त्यहाँका सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरे। यस गतिविधिबाट यस्तो देखियो कि आणविक विनाश अब केही समयका लागि टर्यो र सम्पूर्ण ध्यान उत्तर अमेरिकी महाद्वीपतर्फ (क्यानडा, जुन अझै पनि वैश्विकतावादीहरूको नियन्त्रणमा थियो, र ग्रीनल्याण्डतर्फ) मोडियो।
तर, जब संसारले राहतको सास फेर्यो र ‘मागा’ (MAGA) समर्थकहरू युद्धरहित र आणविक विनाशबाट मुक्त वैकल्पिक भविष्यप्रति आशावादी बने, त्यसैबेला इजरायलले इरानमाथि युद्धको घोषणा गर्यो। र इरानका आणविक क्षमतामाथि आक्रमण गर्यो। ट्रम्पले पनि यो युद्धमा सहभागिता जनाउँदै, इरानको फोर्दो आणविक अनुसन्धान केन्द्रमाथि बम आक्रमणको आदेश दिए। यसरी, भविष्यको दिशामा फेरि एउटा तीव्र नयाँ मोड आयो। जसलाई वस्तुतः तेस्रो विश्वयुद्धको सुरुआत भन्न सकिन्छ। प्यान्डोराको बाकस एकपटक खुलाएपछि फेरि बन्द गर्न सकिँदैन। ट्रम्पले त्यो बाकस खोले।
अब प्रश्न उठ्छ त्यसको भविष्यको चित्र कस्तो देखिन्छ? ट्रम्पको विचारधारालाई ध्यानमा राख्दा, जुन उदारवादी विश्वव्यवस्थाबाट फरक त थियो, तर धेरैले अपेक्षा गरेजस्तो पूर्णतः विचलित भने थिएन। यदि हामीले यस्तो परिकल्पना गर्यौँ कि ट्रम्पले विघटन गर्न खोजेको सोही वैश्विकतावादी "छदम् राज्य" (deep state) अपेक्षाभन्दा बलियो सावित भयो, सम्भवत: त्यसले ट्रम्प र उनको राष्ट्रवादी कार्यक्रमलाई वैश्विकतावादी उद्देश्यका लागि प्रयोग गर्ने निर्णय गर्यो।
जब ट्रम्पवादीहरूले राष्ट्रवादको अर्थ आन्तरिक मुद्दामा केन्द्रित हुने र वैश्विकतावादीहरूलाई पराजित गर्ने भन्ने विश्वास गरेका थिए। तर डिप स्टेटको दृष्टिकोण भने फरक थियो।
त्यो दृष्टिकोण के थियो? सबैभन्दा तर्कसङ्गत निष्कर्ष यो हो: विश्वव्यापी शासनतर्फको सहज र स्वैच्छिक संक्रमणका लागि वैश्विकतावादीहरू (globalists) द्वारा बनाइएको योजनाहरू अवरुद्ध हुन थाले र अन्ततः पूर्ण रूपमा निष्फल भए। रूस र चीनको उदय, भारतको सभ्यतामूलक सार्वभौमिकता तर्फको अग्रसरता, साथै इस्लामिक संसार, अफ्रिका र ल्याटिन अमेरिका–सङ्गै BRICS को उदय र विस्तार। यी सबै एकध्रुवीय विश्व व्यवस्थाको प्रत्यक्ष विरोधमा उभिए। उदारवादी-वैश्विकतावादी पश्चिमले यदि विश्वको बहुसंख्यक भागविरुद्ध युद्ध घोषणा गर्यो भने (यहाँसम्म कि आणविक युद्ध पनि–त्य) त्यो पश्चिमका लागि प्रतिकूल परिणामसहित समाप्त हुन सक्छ।
यसरी कुटिल निर्णयमा पुगियोः रुढीवादी मोड, राष्ट्रवाद र जनवादको उदय तथा बहुध्रुवीयताको सुदृढीकरण विरुद्धको सट्टा, ती शक्तिहरूलाई आफ्नै हितका लागि प्रयोग गर्ने योजना बनाइयो। विश्व सरकार स्थापनाको लक्ष्य पछि सारियो, र यसको सट्टामा "सभ्यताको संघर्ष" नामक एक अन्तरिम परियोजना अघि सारियो। यसैका लागि राष्ट्रवादी डोनाल्ड ट्रम्पलाई सत्तामा ल्याइयो। यसको प्रतीक बनेको थियो "बेलामी सल्युट"। यो सल्युट दुई पटक प्रदर्शन गरियोः पहिलो पटक एलन मस्कद्वारा, र त्यसपछि कन्जर्भेटिभपोलिटिकल एक्सन कन्फरेन्स (CPAC) मा स्टीव ब्यानन तथा अन्यद्वारा। यसै सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स पनि उपस्थित थिए। अब राष्ट्रवाद नै अमेरिकाको पहिचान बन्यो। यो सबैले देखाउँदछ कि यो विश्वव्यापी अन्तर्राष्ट्रियवादको प्रत्यक्ष विरोध हो। तर दीर्घकालीन उद्देश्य आणविक युद्ध भड्काउने भएमा, यो नै सबैभन्दा छिटो परिणाम ल्याउने मार्ग हो।
अर्को अतिराष्ट्रवादी (नेतान्याहुको इजरायली सरकार) शासन "सभ्यताको संघर्ष"लाई प्रश्रय दिने प्रमुख कारक बनेको छ। इजरायलले युद्धकालीन अवस्थामा प्यालेस्टिनीहरूमाथि देखाएको व्यवहार (विशेषगरी गाजाका सर्वसाधारण नागरिकहरूको सामूहिक संहार) दोस्रो विश्वयुद्धको समयमा यहूदीहरूलाई निशाना बनाउने शासकहरूको व्यवहारसँग झट्ट हेर्दा मिल्दोजुल्दो देखिन्छ। नेतान्याहु इजरायलको बेलामी अभिवादनको मूर्त रूप हुन्। लेबनानमाथिको आक्रमण र अहिले इरानसँगको युद्धको उत्तेजना पनि यही भूमिकासँग पूर्णतः मेल खान्छ। इरानको आणविक पूर्वाधारमाथि इजरायलले गरेको आक्रमण एउटा ‘डर्टी बम’ प्रयोग गरे जस्तै हो। अर्थात् आणविक द्वन्द्वको सुरुवात। अब ट्रम्प पनि यस अभियानमा सहभागी भइसकेका छन्।
तर कुरा त्यत्तिमा मात्र सीमित छैन। युक्रेन, वर्तमान अवस्थामा विश्वव्यापी सञ्जाल (वैश्वीकतावादीहरू) को अर्को उपकरण बनेको छ। त्यहाँ नव-नाजीवाद खुला रूपमा फस्टाइरहेको छ। नाजी अपराधीहरूको पुनर्वास र भाषा तथा धर्मको आधारमा हुने दमन दैनिक अभ्यासको रूपमा स्थापित भइसकेको छ। र फेरि, आणविक कारकको कुरा उठ्दा जापोरिझीया आणविक केन्द्रमाथिको निरन्तर गोलाबारी, कुर्स्कमा रहेको आणविक केन्द्रमा निरन्तर रूपमा प्रहार गर्ने प्रयासहरू, अन्ततः रुसको आणविक त्रिकोणीय क्षमतामाथिका आक्रमणहरू हुन्। यी सबै निःसन्देह वैश्वीकतावादीहरूको अनुमति मात्र होइन, उनीहरूको प्रत्यक्ष नियन्त्रण र आदेशमा सम्पन्न भइरहेका छन्।
के आणविक शक्ति भएका भारत र पाकिस्तानबीचको झडप पनि यही ढाँचाको हिस्सा त होइन? यथार्थमा, जसले यो झडप भड्काए, उनीहरूको पहिचान अझै स्पष्ट छैन। अब बाँकी केवल चीन र उत्तर कोरियालाई पनि यस द्वन्द्वमा तान्नु हो। साथै रुसले धैर्य गुमाएर आणविक संघर्षमा प्रवेश गर्ने कुरा कुर्नु मात्र हो।
सारमा निष्कर्ष यो हो कि विश्वयुद्धको कल्पना गर्दै आएका वैश्वीकतावादीहरूले अब त्यो आणविक द्वन्द्वलाई फरक ढंगले प्रस्तुत गर्ने निर्णय गरीरहेका छन् भन्ने कुरा पूर्णरूपमा स्पष्ट देखिन्छ। सामूहिक पश्चिम र बहुध्रुवीय मानवताबीचको प्रत्यक्ष संघर्ष (जहाँ उनीहरू पराजित हुनसक्थे)को सट्टा, अब उनीहरू सबैले सबैसँग लड्ने युद्ध चाहन्छन्। यहाँसम्म कि ट्रम्पजस्ता आफ्ना शत्रुहरूलाई पनि आफ्नै लक्ष्यका लागि प्रयोग गर्न तयार छन्। यस दृष्टिकोणमा, विश्व सरकार अहिले होइन, आणविक युद्धपछि स्थापित गरिनेछ। जब मानव जातिको ठूलो हिस्सा विनाश भइसकेको हुनेछ, बाँकी बचेकाहरू जुनसुकै स्वरूपको शान्तिको याचना गर्नेछन् र युद्ध प्रविधिमा भर परिने क्रमसँगै रोबोट र कृत्रिम बौद्धिकता (AI) नेतृत्वमा आउनेछन्। यसरी, एकात्मकता (Singularity) शान्तिपूर्ण रूपमा होइन, पूर्ण हिंसाको लहरमार्फत आउनेछ।
यही सन्दर्भमा बेलामी सलाम (Bellamy salute) को महत्त्व प्रस्ट हुन्छ। अब, न त समाजवाद, न त उदारवादले कसैलाई प्रेरित गर्नसक्छ। ती विचारधाराहरू अतीतका बिर्सिसकिएका घाउझैँ हुन्। जुन कहिल्यै फर्कने छैनन्। ती अहिले हास्यास्पद ढंगले पुराना र विकृत भइसकेका छन्। कुनै समय तिनले जोश जगाएका थिए; आज ती प्रति केवल घृणा उत्पन्न हुन्छ। आजको ऊर्जा लोकपंथ (populism) र कहिलेकाहीं राष्ट्रवादसँग छ जो एक प्रकारको रूढिवादी क्रान्तिको हो।
अघिल्लो कालमा, उदारवादीहरूले कुनै पनि राष्ट्रभक्ति सम्बन्धी झल्कोलाई दबाइदिएका थिए र परम्परावादीहरूको उपहास गर्थे। तर अहिले, उनीहरूले रणनीति परिवर्तन गरेका छन्। उनीहरूले सर्वप्रथम युक्रेनी नव-नाजीवादमा अभ्यास गरे, र भन्नुपर्दा, प्रभावशाली नतिजा निकाले। एक खण्डित राष्ट्र, झस्किएको जनसंख्या र कुलीनहरूको आन्तरिक झगडाले ग्रस्त समाजलाई घृणा र क्रोधले सञ्चालित एकीकृत युद्ध मन्त्रालयमा रूपान्तरण गरिदिए। यस्तो अवस्थामा पुगेको समाज बेलामी अभिवादनलाई अँगाल्ने र मशाल-यात्रा गर्न आफ्नो वरिपरिको सबै कुरा मात्र होइन, आफैंलाई पनि विनाश गर्न सक्षम हुन्छ। यही कारणले गर्दा त्यहाँ डर्टी बमहरू, रुसी सेनाविरुद्ध कठोर प्रतिरोध र अन्त्यहीन आतंकवादी आक्रमणहरू गरिरहेका देखिन्छन्।
यसको प्रभावकारितालाई देखेर, सम्भवतः विश्वव्यापी सत्ताधारीहरू (वैश्वीकतावादीहरू) ले ट्रम्पलाई समयभन्दा अगाडि हटाउनु उपयुक्त ठानेनन्। अहिले उनीहरू उही उद्देश्यका लागि ट्रम्पलाई प्रयोग गरिरहेका छन्। वास्तवमा, तेस्रो विश्वयुद्ध उनीहरूले पहिले नै आरम्भ गरिसकेका छन्। थकित साम्यवाद र उदारवाद विपरीत, राष्ट्रवादले अझै पनि ठूलो ऊर्जा कायम राखेको छ। सबैले “फेरि कहिल्यै होइन” भन्ने नारा जति चर्को रूपमा दोहोर्याउँछन्, हामी “बर्बर युगको पुनरागमन” तर्फ त्यति नै छिटो अघि बढिरहेका छौं। MAGA देखि उग्र इस्लामसम्म, कीएफ शासनदेखि यित्झाक शापिराको दि किङ्स टोराह (The King’s Torah) मा आधारित अतिवादी यहूदी राष्ट्रवादसम्म, भारतको हिन्दुत्वदेखि क्यालिफोर्निया र टेक्सासमा लैटिनो विद्रोहका ब्राउन बेरेट्स सम्म, BLM र क्रिटिकल रेस थ्योरी देखि मर्ज, म्याक्रों र स्टार्मरको नयाँ युरोपेली सैन्यवादसम्म। जियोर्जिया मेलोनी को हुन् भन्ने कुरा अब सबैलाई थाहा छ। उनी पनि बेलामी सल्यूटका प्रतीक हुन्। वैश्वीकतावादीहरूले जुन नामले पश्चिमी मुलुकलाई सम्बोधन गर्छन् त्यो दोहोर्याउन आवश्यक छैन। तपाईं पनि आफैं अनुमान गर्न सक्नुहुन्छ।
यसरी, वैश्विकतावादका पक्षधरहरूले आफ्नो रणनीति परिवर्तन गरेका छन्। उनीहरूले राष्ट्रवाद र बहुध्रुवीयताको उदयलाई प्रतिरोध गर्ने होइन, त्यलाई अंगीकार गर्ने रणनीति अवलम्बन गरेका छन् यद्यपि उनीहरुले यसलाई आफ्नो उदेश्यअनुसार सबै विरुद्ध सबैलाई युद्धतर्फ (सम्भवतः आणविक युद्ध वा त्यसतर्फ उन्मुख) पुर्याउँछ भन्ने हो। त्यसपछि उनीहरूको योजनाअनुसार विश्व सरकार स्थापना हुनेछ, 'सिङ्ग्युल्यारिटी' (एकत्वको अवस्था) आइपुग्नेछ, र ख्रीष्टीयन परम्परामा वर्णित "मसीह विरोधीको राज्य" अवतरित हुनेछ। अहिले यही आणविक द्वन्द्व पवित्र भूमिमा भड्किएको छ र यसलाई सुरु गर्नेहरू ती इजरायली राजनीतिज्ञहरू हुन् जसले विश्वास गर्छन् कि उनीहरूले मोसियाको आगमनको मार्ग प्रशस्त गर्दैछन्। यसको प्रत्युत्तरमा शिया मुस्लिमहरूले लुकेको इमाम, महदी प्रकट हुने आशामा प्रतिक्रिया दिएका छन्। जसको नियति दज्जाललाई परास्त गर्नु हो। यो सबै केवल संयोग मात्र हुन सक्दैन ।
रूसले यस्ता परिस्थितिमा के गर्नुपर्छ? सबैभन्दा ठूलो गल्ती भनेको लियोपोल्ड बिरालोको¹ भूमिका निभाइरहनु हुनेछ। शान्तिपूर्ण समाजवादका अवशेष र पुरानो भोको उदारवादी विश्वदृष्टिकोण समातिरहनु, राष्ट्रसंघ र जनताको मित्रतामा अडिग रहनु। जबकि वस्तुतः तेस्रो विश्वयुद्ध सुरु भइसकेको छ, यस्तो लापर्वाही केवल त्रुटि होइन, आपराधिक कार्य हुनेछ। अब सत्यलाई आँखा खोलेर हेर्ने समय आएको छ। जब ती मानिसहरू जो बेलामी अभिवादन (Bellamy salute) गर्छन् र मानवता वा नैतिक विवेकको भाषा बुझ्दैनन्। तब हामीसँग यसको सामना गर्न के छ? यदि आवश्यक छ भने, त्यो गाजाका बालबालिकाहरूलाई सोध, जसले मासु पेल्ने चक्कीमा पेलिनुको पीडा सहनु परेको छ।
एकपटक, हामीले नाजी जर्मनीको विरोधमा एक कठोर अधिनायकवादी विचारधारालाई अंगालेका थियौं। त्यो विचारधारा अनुशासित, आक्रामक, वर्ग र राष्ट्रको नाममा पूर्ण आत्म-बलिदान माग गर्ने थियो। त्यो विचारधारा अन्ततः समाप्त भयो। अब त्यसतर्फ फर्कन सम्भव छैन।
हामी अहिले पुनः यस्तो विश्वको सामना गरिरहेका छौं, जहाँ फेरि एउटै कुराले सबै कुरा निर्धारण गर्छ: नाङ्गो शक्तिको तत्त्व, अत्यन्त अनैतिक र आत्मविनाशकारी कार्यहरू गर्ने इच्छाशक्ति, निर्णय र क्रियाकलापमा तीव्र गतिमा भएको वृद्धि र एक अनन्त, आश्चर्यजनक ढंगले निर्लज्ज, पूर्ण झूट, जसले शान्तचित्तपूर्वक पीडितलाई जल्लाद र जल्लादलाई पीडितका रूपमा चित्रित गर्छ।
यहाँ रूस उभिएको छ लिओपोल्ड बिरालोजस्तै, कार्टुनजस्तो शान्तिप्रिय मानसिकतासहित, आफ्ना शत्रुलाई क्षमा गर्न र हाम्रै विरोधमा सबै षड्यन्त्र रच्नेहरूसँग सम्झौता गर्न तयार छ। कुनै विचारधाराविना, केवल सदाशयता, मित्रता, र एक सार्वभौमिक प्रार्थनामा भर पर्ने: “कृपया हामीलाई एक्लै छोडिदिनुहोस्।” र त्यसको उत्तर: छैन। आणविक हतियारले कसैलाई केहीबाट जोगाउने छैन। वास्तवमा, यस्तो देखिन्छ जसले यो सबै योजनाबद्ध रूपमा निर्माण गरे, उनीहरूले पहिले नै निर्णय गरिसकेका छन् कि अहिले भइरहेको युद्ध आणविक नै हुनेछ।
त्यसैले, हामीलाई सबैभन्दा आवश्यक कुरा एउटा विचारधारा हो। नयाँ, जीवित, ऊर्जाले भरिएको, धारिलो, ताजा, मानिसहरूलाई गतिशील बनाउने। एक यस्तो विचारधारा जसले मानवीय अन्तरआत्माको गहिरो शक्तिलाई विस्फोट गराओस्। एउटा पवित्र र असीमित रूसी शक्तिको विचारधारा।
[¹] अनुवादकको टिप्पणी: लियोपोल्ड बिरालो सोभियत कार्टुन पात्र हो, जो आफ्नो शान्त, दयालु स्वभाव र प्रसिद्ध वाक्यांश “आउनुहोस्, शान्तिमा बाँचौं” का लागि परिचित छ। जुन दुर्व्यवहारको सामना गर्दा अहिंसा र नैतिक शक्तिको प्रतीक मानिन्छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली