बल प्रयोगद्वारा बहुध्रुवीयताको निर्माण
प्राथमिक टैब्स

कको 'एस्केलेसन' कार्यक्रममा रुसी दार्शनिक अलेक्जेन्डर दुगिनसँगको अन्तरवार्ता।
प्रस्तोता: आउनुहोस्! हामी अबुधाबीमा भएका वार्ता र छलफलबाट कुरा सुरु गरौँ, जुन विषयले अहिले नि:सन्देह रुपमा सम्पूर्ण विश्वको ध्यान आकर्षित गरेको छ। 'विशेष सैन्य अभियान' को सुरुवातपछि पहिलोपटक रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू त्रिपक्षीयरुपमा एउटै टेबलमा बसेको अन्तरक्रियाको पहिलो दृष्टान्त हो। यो घटनाले स्वाभाविक रूपमा सूचनाको रिक्ततालाई पूर्ति गर्यो। तर वास्तवमा त्यहाँ के छलफल भएको थियो र यदि त्यहाँ;कुनै सहमति भयो भने ती के-के थिए ?
आधिकारिक जानकारी अत्यन्तै न्यून छ। हामीसँग यसबारे भ्लोदिमिर जेलेन्स्कीको एउटा बयान मात्र छ। जसमा उनले पुनः एक पटक क्षेत्रीय मुद्दा उठाएका छन् र युक्रेनका लागि सुरक्षा ग्यारेन्टी सम्बन्धी दस्ताबेजमा "शतप्रतिशत" सहमति भएको दाबी गरेका छन्। यसमा उनको आफ्नो परिचित भाष्य (न्यारेटिभ) लाई निरन्तरता दिँदै आफ्नो तर्क प्रति अडिग देखिन्छन्। यद्यपि, अमेरिकी पक्षको यसबारे धारणा निकै रोचक छ। अमेरिकी प्रतिनिधिहरू (विशेष गरी स्टिभ विट्कफ) ले यसलाई एक "गम्भीर सफलता" (ब्रेकथ्रु) हो भन्ने कुरा गरेका छन्। यी छलफलहरूलाई उनले रचनात्मक रूपमा वर्णन गरेका छन्। अमेरिकी अधिकारीहरूले यस कुरामा जोड दिएका छन् कि सहभागीहरूले एक-अर्काप्रति विशेष सम्मान प्रकट गरे र सम्झौताका लागि वास्तविक तत्परता देखाए।
यसले मुख्य रुपमा यो प्रश्न खडा गर्दछ: अब अगाडिको बाटो कस्तो होला? के अबुधाबीमा भएका भेटघाटहरू शान्तिपूर्ण समाधानका लागि निर्णायक कदम साबित हुनेछन् वा यी केवल कूटनीतिक छद्मभेषका अर्को रूप मात्र हुन्?
अलेक्जेन्डर दुगिन: मेरो दृष्टिकोणमा, अहिले नै शान्तिको अपेक्षा गर्नु निरर्थक छ। हामी जुन परिस्थितिमा छौँ, त्यो यसका लागि पूर्णतः अनुपयुक्त र अप्रयाप्त छ। बढीमा यसलाई एक अस्थायी युद्धविराम सम्मको चर्चा गर्न सकिन्छ। हाम्रो तर्फबाट अपरिभाषित तथा संक्षिप्त आएका अभिव्यक्ति र अमेरिकीहरूका 'मध्यम' आशावादी प्रतिवेदनहरूको पछिल्तिर एउटा गतिरोध लुकेको छ।
यदि हामी यस प्रक्रियालाई अलिकति पछाडि फर्केर एन्कोरेजमा भएको वार्तालाई स्मरण गर्यौं भने हाम्रा राष्ट्रपतिले डोनाल्ड ट्रम्पसँग ती सर्तहरू प्रस्ताव गरेका थिए जुन सर्तहरुमा रूस युद्धविरामका लागि तयार हुन सक्थ्यो। तर यो कुरा स्मरण गर्न महत्त्वपूर्ण छ कि ती सर्तहरू पनि हाम्रो वास्तविक आवश्यकताभन्दा निकै न्यून थिए। यो एक सद्भावपूर्ण कदम थियो र यो महत्त्वपूर्ण (यद्यपि घातक नहुने सर्तमा) सम्झौताका लागि रूसको तत्परता थियो। यो रक्तपात रोक्नका लागि एउटै मात्र सहि विकल्प थियो। रूसको त्यो मृदुभाषी परोपकारी प्रस्तावलाई युक्रेनले स्वीकार गर्नुपर्थ्यो।
ट्रम्पले यो कुरा बुझेका थिए। भ्लादिमिर पुटिन कुन हदसम्म जान तयार थिए भन्ने कुरा उनले हृदयङ्गम गरेका थिए।सारमा भन्नुपर्दा, 'विशेष सैन्य कारबाही'को प्रारम्भमा निर्धारण गरिएका सम्पूर्ण उद्देश्यहरू प्राप्त नहुँदै राष्ट्रपति पुटिन बुद्धिमत्तापूर्ण तरिकाले शत्रुतापूर्ण गतिविधिहरू स्थगित गर्न तयार थिए। त्यस समयमा हाम्रो योजनाले पूर्ण 'नाजीवादबाट मुक्ति' (denazification) वा पूर्ण निशस्त्रीकरणको परिकल्पना गरिएको थिएन। छलफलको मुख्य विषय डोनेत्स्क जनगणतन्त्र (DPR) र लुहान्स्क जनगणतन्त्र (LPR) माथिको नियन्त्रण, जापोरिझिया र खेरसन क्षेत्रहरूमा हाम्रो सैन्य उपस्थिति र अन्य केही सामान्य मागहरूमा मात्र केन्द्रित थियो। यो पूर्ण विजय मान्न सकिने अवस्थाभन्दा निकै कम थियो। यी युक्रेनका लागि निकै ठुला सहुलियतहरू थिए। जुन सहुलियतहरू विभिन्न कारणहरूले गर्दा (यसबारे राष्ट्रपतिलाई नै बढी ज्ञात होला) हामीले उनिहरुलाई दिने निर्णय गरेका थियौँ।
ट्रम्पले यो महसुस गरे र हाम्रो योजनालाई अगाडि बढाउन थाले। किनकि उनको दृष्टिकोणमा यो पश्चिम र युक्रेनका लागि लाभदायक थियो। युक्रेन एक स्वतन्त्र अस्तित्वको रूपमा रहने थियो र हामी उसको लागि केही सुरक्षा ग्यारेन्टीहरूमा समेत सहमत भएका थियौँ (नेटो सदस्यता र विशाल सेनाको तैनाथी बिना)। हाम्रो प्रस्ताव विपक्षीप्रति साँच्चै उदार थियो। यसभन्दा राम्रो अपेक्षा सायदै गर्न सकिन्थ्यो।
यति हुँदाहुँदै पनि उनीहरू रोकिएनन्। "एन्कोरेज" (Anchorage) योजनाको प्रत्यक्ष रूपमै विध्वंश (sabotage) सुरु भयो। युरोपेली संघ, बेलायत र स्वाभाविक रूपमा जेलेन्स्कीले अस्वभाविक प्रति-मागहरू अघि सार्न थाले। उनीहरूले तत्काल युद्धविराम हुनुपर्ने, युक्रेनको कानुनी मान्यता प्राप्त क्षेत्रमा नाटो (NATO) सेनाको प्रवेश गर्नपाउनु पर्ने तथा अन्य विस्तारित सुरक्षाहरू समेत हुनुपर्ने राखेका थिए। जेलेन्स्कीले जब आफूले "कुनै कुरामा सहमति गरेको" दाबी गर्छन् ! (वास्तवमा, अमेरिकीहरूसँग भन्दा बढी युरोपेलीहरूसँग निकट रहेर) तव उनले ठ्याक्कै यी मागहरु दोहोर्याइरहेका हुन्छन्।
ट्रम्प स्वयंको आवेग र अस्थिर स्वभावका कारण यी सम्झौताहरूबाट छिट्टै विचलित भए। मदुरोको गिरफ्तारी, ग्रीनल्याण्डको विवाद र इरानसँगको नयाँ चरणको युद्धको तयारीका बीच एन्कोरेज योजना उनको ध्यानको परिधिभन्दा बाहिर धकेलियो। अन्ततः उनले आफ्नो पुरानो शैली अपनाएर हामीसँग कुरा गर्न थाले। आदेश दिने, दायित्वहरूलाई बेवास्ता गर्ने, दबाब तथा धम्की दिने।
उनका हालैका सन्देशहरूको सार हामीलाई युरोपेलीहरू र जेलेन्स्कीका मागहरू मान्न बाध्य पार्नु थियो। सबै कुरामा तुरुन्त हस्ताक्षर गर अनि कुरा सिद्धियो। वास्तवमा, ट्रम्पले हामीलाई आफ्नो अधीनस्थ (vassals) जस्तो व्यवहार गर्न थाले। एउटा दुर्भाग्यपुर्ण कुरा भन्नुपर्दा उनीसँग कुनै साझेदारीको लागी मर्यादित मित्रवत् सम्बन्धको कुनै ढाँचा छैन। उनको विचारमा संसारमा कि त नष्ट गरिनुपर्ने शत्रुहरू छन्, कि त अधीनस्थ वा दासहरू। हामीले सद्भाव र सम्झौताको तत्परता देखाएको हुनाले उनको तर्कमा हामी शत्रु होइनौ। यदि हामी शत्रु होइनौं भने हामीले उनको आज्ञाकारी सेवकको स्थान लिनुपर्छ। उनको सोचाइमा तेस्रो कुनै विकल्प छैन।
प्रस्तोता: यो ठ्याक्कै यसरी नै किन अगाडि बढ्यो? के यो भेनेजुएलामा प्राप्त सफलता र मदुरोलाई नियन्त्रणमा लिइएको घटनासँग सम्बन्धित छ?
अलेक्जेन्डर दुगिन: कुरा के हो भने, ट्रम्प अल्पकालीन चक्रमा सोच्ने गर्छन्। जेलेन्स्की र युरोपेली संघले सुरुवाती चरणमै अत्यन्त कुशलतापूर्वक एन्कोरेज सम्झौताहरूलाई अवरुद्ध तुल्याए। प्रक्रियालाई लम्ब्याएर र अस्वीकार्य शर्तहरू अघि सारेर उनीहरू यसलाई ढिलाइ गर्न र प्रभावहीन बनाउन सफल भए। फलस्वरूप, ट्रम्पले त्यहाँ के सहमति भएको थियो भन्ने कुरा नै बिर्सिए। उनलाई दिइएको चेतावनी उनले बिर्सिए: प्रस्तावित विकल्प नै हाम्रो सम्झौताको अन्तिम सीमा थियो। हामी त्योभन्दा अगाडि बढ्नेवाला थिएनौं। साथै त्यसबाहेक अरू कुनै कुरामा छलफल गर्ने पनि छैनौं।
भेनेजुएलाको सफलता र उनको उग्र काउब्वाई-शैली, लगभग गुण्डागर्दीपूर्ण राजनीतिको प्रभावमा परेर ट्रम्प सफल भएको उन्मादमा परे। विश्वव्यापी रूपमा उनका ती आतंककारी शैलीले केही नतिजा दिइरहेका छन् र उनलाई अब कुनै सीमा बाँकी छैन भन्ने महसुस भइरहेको छ। त्यसैले उनले हामीसँग यसरी कुरा गर्न थाले मानौं हामी उनका अधीनस्थ हौं। तर हामी यो सहने छैनौं। हो, हामी औपचारिक रूपमा शिष्टाचारको पालना गर्छौं। हामीले अबुधाबीमा सैन्य प्रतिनिधिहरू पठायौं ताकि उनीहरूले शान्त स्लाभिक मुद्रामा ती उन्मत्त नीचहरूलाई हेर्न सकून्। साथै त्यसपछि हामीले उनीहरूलाई फिर्ता बोलायौं। हामी परिणामहरूमा टिप्पणी गर्दैनौं, किनकि त्यहाँ टिप्पणी गर्नुपर्ने केही छैन।
हाम्रा राष्ट्रपति आफ्ना प्रतिज्ञाहरूमा दृढतापूर्वक अडिग रहन्छन् र उनले केवल घोषणाका भरमा "एङ्करेजको मर्म" (spirit of Anchorage) लाई अस्विकार गर्न सक्छन्। तर वास्तविकतामा त्यो मर्म अब अस्तित्वमै छैन। उनीहरू हामीमाथि दबाब दिने र अपमानित गर्ने प्रयास गरिरहेका छन्। यहाँ एउटा अत्यन्त सूक्ष्म खेल चलिरहेको छ। हामी केवल आफ्नो सम्झौता गर्ने क्षमता प्रदर्शन गर्न र तनावको स्तरलाई एक्कासि बढ्न नदिनका लागि मात्र यस प्रक्रियाबाट पछि हटेका छैनौँ। वास्तविकतामा, यी वार्ताहरू असफल हुने निश्चित छन्। जब ट्रम्पले युरोपेली संघ र युक्रेनका ती मागहरूलाई सम्बोधन गर्न थाले जुन हाम्रा लागि स्पष्ट रूपमा अस्विकार्य थिए र उनले अलास्कामा गरेका सम्पूर्ण छलफलहरूलाई समाप्त गरिदिए। अब यो केवल अर्थहीन औपचारिकता मात्र हो जसले हामीलाई कतै पुर्याउँदैन।
ट्रम्पले हामीलाई सम्बन्धको एउटा यस्तो अपमानजनक ढाँचा प्रस्ताव गरिरहेका छन् जुन रूसका लागि पूर्णतः अस्विकार्य छ। यद्यपि, हामी अझै टकरावको अर्को चरणमा प्रवेश गर्न चाहिरहेका छैनौँ। अर्को कदम मिसाइलका बारेमा गरिने कुराहरूभन्दा धेरै माथिको हुनेछ। यदि युक्रेन र नाटो अझ अगाडि बढे भने हामीसँग धम्कीका विकल्पहरू समाप्त हुनेछन्। त्यसपछि हामी केवल धम्की दिने अवस्थामा रहने छैनौँ। हामीले प्रहार गर्नुपर्नेछ। जबसम्म हामी त्यो सैन्य प्रहारको दिशामा अघि बढ्दैनौँ, तबसम्म विटकफ र कुश्नर जस्ता वार्ताकारहरूलाई अबुधाबीको चक्कर लगाउन दिऊँ वा मस्को आउन दिऊँ। यहाँको वातावरण स्वच्छ छ, सुरक्षित छ, उनीहरू स्वतन्त्र रूपमा घुम्न सक्छन्। यो पूर्ण रूपमा एक निष्प्रभावी र परिणामहीन कूटनीतिक बाटो मात्र हो।
समस्या यो हो कि पश्चिमले हाम्रो वास्तविक भू-राजनीतिक सार्वभौमसत्तालाई कहिल्यै स्वीकार गरेन। 'विशेष सैन्य अभियान' का केही विफलताहरूलाई शत्रुले हाम्रो कमजोरी र अपर्याप्त दृढ संकल्पको प्रमाणका रूपमा ग्रहण गर्यो। कुनै विन्दुमा हामीले पश्चिमी तर्कशीलतामाथि भरोसा गर्दै कठोर प्रतिक्रिया दिने अवसर गुमायौँ। तर त्यहाँ कुनै तर्कशीलताको काम छैन; उनीहरू केवल शक्ति मात्र बुझ्दछन्। मध्यम स्तरमा त्यो शक्ति प्रदर्शन गर्ने अवसर गुमाएपछि अहिले हामी यस्तो परिस्थितिमा छौँ जहाँ हाम्रो भू-राजनीतिक सामर्थ्य पुष्टि गर्नका लागि अर्को कदमको रूपमा शक्तिलाई चरम सीमासम्म पुर्याउन आवश्यक भएको छ। यस अवस्थामा मैले आणविक द्वन्द्वलाई टार्न सकिने संभावना कम देखिरहेको छु। किनभने पश्चिममा अब कसैले पनि 'पोसाइडन' र 'ब्युरेभेस्टनिक' जस्ता रणनीतिक हतियार प्रणालीका बारेमा दिइएका अभिव्यक्तिहरूलाई गम्भीरतापूर्वक लिरहेका छैनन्।
हाम्रा लागि त्यहाँ प्रहार गर्न सकिने धेरै लक्ष्यहरू छन्। उदाहरणका लागि; कीभस्थित सरकारी क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न सकिन्छ ताकि त्यसको अस्तित्व नै बाँकी नरहोस्। हामीले यस आतङ्ककारी शासनको सैन्य-राजनीतिक नेतृत्वलाई निशाना नबनाए तापनि, उनीहरूलाई बङ्करहरूमा लुक्न र ढल निकास प्रणालीमार्फत भूमिगत रूपमा हिँडडुल गर्न बाध्य पार्नेछौ। त्यसभन्दा अझ अगाडि बढेर सबैभन्दा बढी रुस-विरोधी र आक्रामक युरोपेली शत्रुहरूको उन्मादलाई शान्त पार्न पनि सकिन्छ। मलाई लाग्दैन कि हामी अझै रणनीतिक आणविक हतियार प्रयोग गर्नुपर्ने स्थितिमा पुगिसकेका छौँ। तर हामी त्यसका लागि तयार हुनुपर्छ। यदि पश्चिम (जोसँग हामी युक्रेनमा लडिरहेका छौँ) ले हाम्रो सार्वभौमसत्ताको अधिकारलाई अस्वीकार गर्छ भने हामीसँग उपलब्ध जुनसुकै माध्यमबाट त्यसलाई प्रमाणित गर्नुको विकल्प छैन।
हाम्रो गम्भीरता र रणनीतिक शक्ति प्रदर्शन गर्ने सरल उपायहरू दुर्भाग्यवश हामीले गुमायौँ। किनकि हामीले परम्परागत हतियारहरूबाटै व्यवस्थापन गर्न सम्भव हुने विश्वास गरेका थियौँ। यसैबीच तनाव बढ्दै नयाँ स्तरमा पुगेको छ। दुवै पक्षबाट कुनै पनि तनाव न्यूनीकरण (de-escalation) भएको छैन। यसको विपरीत शत्रुले परिस्थितिलाई उत्तेजित बनाइरहेको छ र हामी प्रतिक्रिया दिन बाध्य छौँ। अब यस्तो क्षण आएको छ जहाँ सबैजना हाम्रो प्रहारको पर्खाइमा छन्। विश्व यतिबेला स्तब्ध भएर प्रतीक्षा गरिरहेको छ। हामी किन, कसरी, र कस्तो शक्ति एवं प्रभावका साथ जवाफ दिनेछौँ? यसो गर्नु मौलिक रूपमा आवश्यक पनि छ।
कार्यका परिणामहरू हुन्छन् तर, निष्क्रियताका पनि परिणाम हुन्छन्। यदि हामीले प्रहार गरेनौं भने हामी शत्रुको नजरमा आफ्नो कार्य गर्न अक्षम प्रमाणित हुनेछौं। पश्चिमसँगको अन्तरक्रियाको समसामयिक राजनीतिमा अब 'तार्किक संयम' को कुनै ठाउँ बाँकी छैन। त्यहाँ केवल "म सक्छु" वा "म सक्दिन" मात्र छ। कि त तपाईंले आफ्नो शत्रुलाई गाजा बनाउनुहुन्छ। कि त आफू गाजा बन्नुहुन्छ। यो एउटा बीभत्स र भयावह सूत्र हो जुन कसैले पनि सुन्न नपरोस् भन्ने चाहना हुन्छ। तर यो हामीले निम्त्याएको अवस्था होइन। म दोहोर्याउँछु- 'कि त गाजा तपाईंको शत्रु हो, कि त गाजा तपाईं नै हो।
अब 'रातो घेरा' कोर्ने, त्यसलाई सार्ने, वक्तव्य दिने वा सम्झौता गर्ने जस्ता विकल्पको औचित्य समाप्त भयो। यीमध्ये कुनै पनि कुराले अब काम गर्दैन। यसले त संयुक्त राज्य अमेरिका र युरोपेली संघबीचको सम्बन्धमा त काम गर्दैन भने हाम्रो सन्दर्भमा त झन् कुरै छोडौं। अबको एक मात्र तर्क भनेको 'शसक्त प्रभावकारी प्रहार' हो। शब्दहरूको मूल्य घटेको छ। ट्रम्पले भेनेजुएलाका बहालवाला सार्वभौम राष्ट्रपतिलाई अपहरण गरे। दुई घण्टाभित्रै प्रभावकारी रूपमा देशलाई गाभेर कार्यवाहक राष्ट्रपति भएको घाेषणा गर्नुका साथै त्यहाँको सम्पत्ति आफ्नो घोषणा गरे। यो अन्तर्राष्ट्रिय आतंकवादको प्रत्यक्ष नमुना हो। सबै अन्तर्राष्ट्रिय मापदण्डहरूको उल्लंघन हो। तर, ट्रम्प खुल्लमखुल्ला भनेका छन् अब अन्तर्राष्ट्रिय कानुनको कुनै औचित्य छैन।
यसमा हाम्रो नैतिक आक्रोश हुन सक्छ तर, खेलका यी नियमहरूलाई स्वीकार गर्नुको विकल्प हामीसँग छैन। अहिले 'नैतिक रूपमा सही' त्यही हो, जसलाई रुसले नैतिक रूपमा सही मान्दछ। हामीले जे गर्न सक्छौँ र जे गर्न चाहन्छौँ त्यही गर्नुपर्दछ। किनभने उनीहरूले हामीसँग गर्ने व्यवहार ठ्याक्कै त्यस्तै छ। यो एउटा पूर्णतया नयाँ 'कोअर्डिनेट सिस्टम' (नयाँ पद्धति) मा प्रवेश हो। जहाँ सबै कुरा शक्तिको प्रदर्शन र त्यसको प्रभावकारी प्रयोगद्वारा निर्धारण गरिन्छ। यदि हामी स्वयं यस पद्धतिमा प्रवेश गरेनौं भने पनि हामीलाई बलपूर्वक यसभित्र धकेलिनेछ।
तसर्थ, संयुक्त राज्य अमेरिकासँगका वार्ताहरू पूर्ण रूपमा समाप्त भएका छन्। ती केवल 'औपचारिकताका लागि' र जीवनजगतको अर्थहीन जडताका रूपमा मात्र जारी रहनेछन्। ताकि ट्रम्पलाई मनोवैज्ञानिक रूपमा पुनः उत्तेजित नबनाइयोस्। तर अब निर्णय लिने पालो हाम्रो हो। हामीले अत्यन्त गम्भीर, वजनदार र प्रभावशाली प्रहार गर्नुपर्छ। प्रहार ठ्याक्कै को माथि गर्ने? त्यो राष्ट्रपति र रणनीतिकारहरूले तय गर्ने विषय हो। तर नियमविहीन युद्धमा जसले प्रहार गर्दैन, ऊ स्वयं प्रहारको शिकार हुन्छ। यदि विपक्षीले प्रहार गर्न हात उठाएको क्षणमा तपाईंले शान्तिको याचना गर्नुभयो भने तपाईंले दोब्बर प्रहार सहनुपर्नेछ।
हामीले उचित प्रतिशोधका लागि एउटा लक्ष्य निर्धारण गर्नुपर्छ र आफ्नो शक्तिको प्रदर्शन गर्नुपर्छ। अहिलेको हाम्रो निष्क्रियता पनि सक्रियता जत्तिकै प्रभावशाली छ। तर, यो केवल विपरीत र विनाशकारी अर्थमा मात्र। प्रहार गर्नु जोखिमपूर्ण छ, तर प्रहार नगर्नु झनै खतरनाक छ। युद्धलाई निरन्तरता दिनु चुनौतीपूर्ण छ, तर यसलाई अहिले नै रोक्नु भनेको झन् महाविपत्तिलाई स्वीकार गर्नु हो।
म पश्चिमी र अमेरिकी सञ्चारमाध्यमहरूको सूक्ष्म विश्लेषण गर्दछु। युक्रेनको अवस्थाले मलाई चिन्तित तुल्याउँदैन। त्यहाँको स्थितिबाट यो स्पष्ट भइसकेको छ कि जेलेन्स्कीले अन्त्यसम्म कुनै पनि किसिमको शान्ति प्रक्रियालाई विफल तुल्याउनेछन्। किनभने युद्ध नै उनको शासनको नेतृत्वमा आफ्नो अस्तित्व बचाउने एक मात्र उपाय हो। यसबारे मेरो विश्वास छ कि हामीले यस आतङ्कवादी शासन र यसको सम्पूर्ण नेतृत्वलाई कुनै पनि माध्यम र जुनसुकै मूल्यमा यथासक्दो चाँडो नष्ट गर्नुपर्छ। शान्ति, विजय र सार्वभौमसत्ताको रक्षाका लागि त्यो नै सबैभन्दा छोटो मार्ग हो। निरोधात्मक प्रहारको युग सुरु भएको छ। जसले पहिलो र प्रभावकारी प्रहार गर्नेछ, उसले समय मात्र होइन भविष्य पनि प्राप्त गर्नेछ।
शत्रुमाथि गरिने एक शक्तिशाली र सही लक्षित प्रहार नै यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय हुन सक्छ।
प्रस्तोता: तर प्रश्न यहाँ छ, यदि सबै पक्षले यसरी नै निरोधात्मक प्रहारहरू गर्न थाले भने के कुनै भविष्य बाँकी रहला र?
अलेक्जेन्डर दुगिन: "यदि सबै पक्षले एकैचोटि यो प्रक्रियाको सुरुवात गरे भने सम्भवतः कुनै पक्षका लागि पनि भविष्य सुनिश्चित नहुन सक्छ। तर समस्या के हो भने, यदि हामी यस प्रक्रियामा ढिलो भयौं भने, विशेष गरी हाम्रो भविष्य शुनिश्चित हुनेछैन। जबकि उनीहरूका लागि भने त्यो अवश्य सुनिश्चित हुनसक्छ।"
यो एउटा अत्यन्तै महत्त्वपूर्ण र मौलिक कुरा हो। हामी अहिले नै तेस्रो विश्वयुद्धको भुमरीभित्र छौँ। हो, सबै कुराको अन्त्य अत्यन्तै दुखद तरिकाले हुन सक्छ। तर यदि हामीले विजय हासिल गरेनौं भने, हाम्रो लागि यसको परिणाम जुनसुकै अवस्थामा पनि विनाशकारी हुनेछ। सार यही हो; कि त हामीले उनीहरूलाई रोक्नुपर्छ, अन्यथा हाम्रो अस्तित्व नै समाप्त हुनेछ ।
प्रस्तोता: "म विश्व व्यवस्थाको रूपान्तरणको बारेमा थप चर्चा गर्न चाहन्छु, जहाँ अन्तर्राष्ट्रिय कानुनले काम गर्न छोड्छ र सबै कुराको निर्णय केवल शक्तिको आधारमा हुन थाल्छ। तसर्थ, अहिले हरेक पक्ष आफ्नो अस्तित्व र अधिकार पुष्टि गर्न कार्यमै उत्रिन बाध्य छन् साथै रुस पनि यसको अपवाद होइन।
यद्यपि, मलाई एउटा प्रसिद्ध उखानको याद आउँछ: 'मूर्खसँग बहस नगर्नुहोस्, नत्र उसले तपाईंलाई आफ्नै स्तरमा झार्नेछ र आफ्नो अनुभवको आधारमा तपाईंलाई पछार्नेछ।' के यहाँ पनि त्यस्तै केही हुन सक्छ? भेनेजुएलामा प्राप्त सफलतापछि संयुक्त राज्य अमेरिका स्पष्ट रूपमा निर्लज्ज र आक्रामक बन्न थालेको छ।
ग्रिनल्याण्ड, मेक्सिको, क्युबा र इरानप्रतिको उसको उत्कट तृष्णा हामी देखिरहेका छौँ। यदि हामी उनीहरूकै नियमअनुसार यो खेलमा प्रवेश गर्यौँ भने के हामीले एक तर्कसंगत र 'शिष्ट' शक्तिको रूपमा रहेको आफ्नो आत्म-पहिचान गुमाउने त होइनौँ?
अलेक्जेन्डर दुगिन: "पागलखानाभित्र आफूलाई विवेकशील प्रमाणित गर्न खोज्नु अकल्पनीय र सबैभन्दा निरर्थक प्रयास हो। शिष्टता र मर्यादाका सबै नियमहरू पालना गर्दै, औपचारिक सम्बोधन र परिणामहरूको चेतावनी दिँदै कुनै आक्रामक मूर्खसँग व्यवहार गर्नु स्वयम्मा एउटा मूर्खताको लक्षण हो। यदि अन्तर्राष्ट्रिय कानुनको अस्तित्व नै समाप्त भइसकेको छ भने (यो समाप्त भइसक्यो, कुरा यही नै हो), त्यसको दुहाई दिनु अर्थहीन हुन्छ। यो मृत भइसकेको छ। किनभने मुख्य पात्रहरूले यसको अस्तित्व स्वीकार नगर्ने निर्णय गरिसकेका छन्।
नयाँ नियमहरू स्थापना गर्नका लागि, हामीले पहिले यो युद्ध जित्नुपर्छ। हिंस्रक र पागल बिरामीहरूको वार्डमा अर्दली वा चिकित्सकको भूमिका दाबी गर्नका लागि सबैभन्दा पहिले सबै बिरामीहरूलाई उनीहरूको ठाउँमा फर्काउनुपर्छ। अहिले उनीहरू वार्डबाहिर छन् र प्रत्येकले आफ्नै रणनीतिअनुसार काम गरिरहेका छन्। अहिले केहीफरक आकार लिँदैछ। एउटा अन्तर्राष्ट्रिय कानुनको अन्त्य भएको छ र दोस्रोको रूपरेखा कोरिँदैछ। यो घोषणाहरू मार्फत होइन, बरु ठोस कार्यहरू मार्फत हुनेछ।"
आजको युगमा जुन कुरा सफल हुन्छ, त्यही नै मानक (Norm) बन्छ। एक सार्वभौम देशको राष्ट्रपतिलाई अपहरण गर्न ट्रम्प सफल भए; त्यसैले अब यही नै नयाँ मानक हो। यसलाई चुनौती दिनु निरर्थक छ। हाम्रो आवाज सुनाउनका लागि हामीले पनि त्यसरी नै कुनै राष्ट्रपति वा केही प्रमुख व्यक्तिहरूलाई बिजुलीको गतिमा अपहरण गरेर भन्नुपर्छ: 'हेर ट्रम्प, तिमीले गर्ने यही हो र यसका परिणामहरू यीनै हुन्। हामी पनि यो खेल खेल्न सक्छौं। तिम्रा कठपुतलीहरूलाई हाम्रा मानिसहरूसँग साटौं।'
हामी कुनै एक पक्षलाई आफ्नो अनियन्त्रित व्यवहारद्वारा विश्वको विद्यमान परिस्थितिलाई उलटपुलट पार्ने अनुमति दिन सक्दैनौँ। यदि डोनाल्ड ट्रम्पका हरेक गतिविधिहरू यसरी नै दण्डहीन र जवाफदेहीताविहीन भईरहे भने, भविष्यमा एउटा यस्तो नयाँ 'अन्तर्राष्ट्रिय कानुन' स्थापित हुनेछ, जहाँ उनको स्वार्थ अनुकूल प्रस्ताव गरेको 'शान्ति परिषद्' नै सर्वेसर्वा बन्नेछ। यस्तो परिषद्मा ट्रम्प र उनका ती अनुयायीहरू मात्र सामेल हुनेछन्। जो वासिङ्टनको जुनसुकै बहुलठ्ठीपूर्ण आक्रामक कदमलाई अन्धभक्त भई समर्थन गर्न तत्पर हुनेछन्।
उनी पुरानो विश्व व्यवस्थालाई मेटाउँदै एकध्रुवीय आधिपत्य (Unipolar Hegemony) कायम गर्दैछन्। यो कुकृत्य हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन। त्यसैले, एउटा आक्रामक उन्मत्त व्यक्तिलाई उसकै स्तरमा सामना गर्नुको विकल्प हामीसँग छैन। अब अन्य कुनै पनि विकल्प सम्भव छैन। अब नियमविहीन लडाइँका सर्तहरू स्वीकार गर्ने, आफ्नो अधिकार फिर्ता लिने र निर्णायक कदमका आधारमा नयाँ व्यवस्था निर्माण गर्नु अपरिहार्य छ। परिस्थिति सर्वत्र अस्थिर छ। मध्यपूर्वमा इजरायलले गाजामा नरसंहार गरिरहेको छ। तर के भयो त? के विश्वव्यापी आक्रोशले बेन्जामिन नेतान्याहुको अनुहारमा सामान्य मानवीय भावना उत्पन्नगर्ने प्रतिक्रियासम्म पैदा गर्यो? गरेन। संयुक्त राज्य अमेरिका इरानमा आक्रमणको तयारी गर्दैछ। तिनीहरू यो गर्न सक्षम छन् र तिनीहरू त्यसरी नै अघि बढिरहेका छन्।
यस्तो परिस्थितिमा हामी "मैत्रीको विरुद्ध" वा "मैत्रीको पक्षमा" छौँ भन्नु 'चेबुरास्का' (सोभियत कार्टुन एक पात्र) को तर्क हो। चेबुरास्काहरूलाई सोही अनुरूप व्यवहार गरिन्छ। अबको परिस्थितिमा हामीले डरको माध्यमबाट आफ्नो सम्मान पुनः स्थापित गर्न आवश्यक छ। आज हाम्रो संयमको कुनै मूल्य छैन। यसलाई कमजोरी र दासत्वको निमन्त्रणाको रूपमा लिइँदैछ। हामीलाई अत्यन्त तीव्र गतिमा सोभियत संघको जस्तो अवस्थामा मात्र होइन बरु १९९० को दशकको त्यो आधारहीन अराजकता तर्फ धकेलिँदैछ। तिनीहरूले हाम्रो सार्वभौमसत्ता खोस्ने प्रयास गरिरहेका छन् र त्यसको बदलामा हाम्रै रोक्का गरिएका सम्पत्तिबाट केही टुक्राहरू दिने प्रस्ताव गरिरहेका छन्। ताकि उदाहरणका लागि हामीले भविष्यमा चीनसँग हुने अमेरिकी युद्धका लागि आफ्नो हवाई क्षेत्र खुला गरिदिऔ।
म बुझ्दछु कि शासक वर्गभित्र अझै पनि त्यस्ता तप्काहरू छन् (जसलाई "छैटौँ स्तम्भ" sixth column भनिन्छ) जो आफ्ना बिदेशमा रहेका बैंक खाताहरू फुकुवा हुन्छन् भने यो कुरामा सहमत हुन तयार छन्। तर यो राष्ट्रपतिको मार्ग र समाजको मनोभावनाको पूर्णतया विपरीत छ। सार्वभौमसत्ताका लागि हामीले पहिले नै धेरै ठूलो मूल्य चुकाइसकेका छौँ। त्यसैले अब बीचैमा रोकिन सकिँदैन। हामीसँग एउटै मात्र विकल्प छ; त्यो हो विजय। सम्झौताका सबै पाटाहरू अब समाप्त भइसकेका छन्।
यसअघि विद्यमान अन्तर्राष्ट्रिय कानुन द्वितीय विश्वयुद्धमा प्राप्त असाधारण र कठिन विजयको परिणाम थियो। यदि हिटलरले जितेका भए, रुसको अस्तित्व रहने थिएन र हामी दास हुने थियौँ। ट्रम्पले पनि त्यस्तै केही प्रस्ताव गरिरहेका छन्; "दास बन अनि तिमीहरू राम्रोसँग बाँच्नेछौ; सायद हामी तिमीहरूलाई सुखी सामन्त (vassals) भन्नेछौँ।" हामीसँग कुनै विकल्प छैन। एउटा उन्मादी व्यक्तिसँग कठोरतापूर्वक व्यवहार गर्नुपर्छ। यहाँ देखाइने कुनै पनि सहिष्णुतालाई पराजयको रूपमा व्याख्या गरिनेछ।
प्रस्तोता: यदि कसैले आफूलाई डोनाल्ड ट्रम्पको स्थानमा राखेर हेर्छ भने, उनका कार्यहरूको तर्क डरलाग्दो रूपमा प्रभावकारी देखिन्छ। भेनेजुएला विरुद्ध यस्ता कदमहरू चाल्दा, उनले पक्कै पनि भ्लादिमिर पुटिन र सी जिनपिङका सम्भावित प्रतिक्रियाहरूको आँकलन गरेका थिए। उनले उनीहरूको मनोवैज्ञानिक अवस्था र निश्चित नियमहरू भित्र रहेर कार्य गर्ने शैली बुझेका छन्। तर ट्रम्पका कार्यहरूको आन्तरिक तर्कको भविष्यवाणी गर्न असम्भव जस्तै देखिन्छ।
के वर्तमान परिस्थितिमा यो सम्भव छ? के उनी कुनै स्पष्ट रूपमा निर्देशित दिशामा अघि बढिरहेका छन् वा यो केवल अराजकता हो? र यदि यो अराजकता हो भने पनि, के यसभित्र कुनै एउटै शसक्त तर्क लुकेको हुन सक्छ? हामीले यो किसिमको दबाब जताततै देखिरहेका छौँ; ग्रिनल्याण्ड, मेक्सिको, क्युबा, इरान। कहिलेकाहीँ यस्तो लाग्छ कि उनी अन्य सबै भन्दा बढी निर्लज्ज छन्।
अलेक्जेन्डर डुगिन: निस्सन्देह, ट्रम्पसँग एउटा रणनीति छ, र उनका कदमहरू पछाडि एउटा स्पष्ट कार्यरेखा छ जुन पहिलो नजरमा बुझ्न त्यति सहज छैन। एउटा सार्वभौम राष्ट्रका बहालवाला राष्ट्रपति एवम् रुस र चीनका सहयोगी, मदुरोलाई अपहरण गर्ने अधिकार आफूसँग भएको उनले किन महसुस गर्छन्? किनभने उनी पूर्णतः विश्वस्त छन् कि न त हामीबाट, न त चीनबाट नै उनको विरुद्धमा केही गरिनेछ। यो कुरा इरान र अन्य कुनै पनि क्षेत्रको हकमा लागू हुन्छ। जबसम्म यस्ता हर्कतहरू दण्डरहित रहन्छन् र जबसम्म उनले केही पनि नगुमाई वा त्याग नगरी लाभ प्राप्त गरिरहन्छन् तवसम्म भू-राजनीतिक नक्साको सन्तुलन डगमगाउँछ। उनको व्यवहार झन् बढी दुस्साहसी र एकपक्षीय बन्दै गइरहेको छ।
यो अधिपत्यको पुनस्र्थापना हो। तर सामूहिक पश्चिमा जगतको होइन, मात्र संयुक्त राज्य अमेरिकाको। ट्रम्पले यो कार्य सफलतापूर्वक र निरन्तर गरिरहेका छन्। जुन वास्तवमै भयावह छ। कुनै अवरोधको सामना गर्नु नपरेपछि उनी यो निष्कर्षमा पुग्नेछन् कि बहुध्रुवीय विश्वको पक्षमा कोही पनि छैन, वा कोही छन् भने पनि उनीहरू यति कमजोर र सुस्त छन् कि उनीहरूलाई पूर्णतः उपेक्षा गर्न सकिन्छ।
मेरो विचारमा अब चुनौतीको जवाफ चुनौतीले नै दिने समय आएको छ। ट्रम्पले किन मदुरोलाई निशाना बनाए? ठिकै छ, त्यसो भए हामी जेलेन्स्कीलाई नियन्त्रणमा लिनेछौँ। अथवा, प्यालेस्टिनीहरूमाथि गरेको दमनका लागि नेतान्याहुलाई अपहरण गरौँ र त्यसपछि उनलाई फिर्ता गर्ने वा नगर्ने निर्णय गरौँ। जेलेन्स्कीलाई मदुरोसँग साट्न पनि सकिन्छ। यो केवल व्यक्तिहरूको कुरा होइन। हामी एस्टोनियाबाट काजा काल्लासलाई मात्र होइन बरु एस्टोनियासहित उनलाई उठाउन सक्छौं। यहाँ मुख्य कुरा सिद्धान्तको हो। यदि चुनौतीको जवाफ दिइएन भने, नतिजा उनीहरूको पक्षमा १–० हुनेछ। त्यसपछि पूर्ण पराजयको खतरा बढ्नेछ। हाम्रो सामना एक हिसाबकिताब राख्ने प्रतिद्वन्द्वीसँग भइरहेको छ। हामीले उनलाई जति उन्मुक्ति दिँदै जानेछौँ, उनले त्यति नै बढी मूल्य खोज्नेछन् साथै हाम्रो शब्दको वजन उति नै कम हुँदै जानेछ।
ट्रम्पको रणनीति बुझ्न सकिन्छ। उनी संयुक्त राज्य अमेरिकाको हितमा रणनीतिक रूपमा काम गरिरहेका छन् र पश्चिमी गोलार्धमा 'मनरो सिद्धान्त'लाई पुनःस्थापित गर्दैछन्। तर उनी पूर्वी गोलार्ध र मध्य पूर्वमा केवल यसकारण हस्तक्षेप गर्छन् किनभने कसैले उनलाई रोक्दैन। अब समग्र रूपमा पश्चिमका लागि विशाल समस्याहरू सिर्जना गर्नु आवश्यक छ। सायद यस घडीमा हामी सिधै अमेरिकासम्म पुग्न सक्दैनौँ होला, तर अन्य धेरै लक्ष्यहरू छन्। ट्रम्पले हाम्रो एउटा गोटी काट्छन् भने, हामी उनीहरूको एउटा गोटी काटौँ, जस्तै जोलानी। सिरियामा गरेका अपराधका लागि उनलाई किन गिरफ्तार नगर्ने? यो कुरा हाम्रो दिमागमा समेत किन आउँदैन, तर आउनुपर्छ।
हामी अहिले त्यो कमिला जस्तै भएका छौँ, जसको वरिपरि चकले एउटा घेरा कोरिएको छ। शारीरिक रूपमा त्यो घेरा नाघ्न सक्षम भए तापनि, ऊ त्यही रेखाद्वारा सम्मोहित छ र त्यसलाई काट्ने साहस नगर्दा भोकभोकै मर्न तयार छ। हामी ती पर्खालहरूद्वारा बाँधिएका छौँ जुन अस्तित्वमै छैनन्। हामी ती नियमहरू पालना गरिरहेका छौँ जुन अब सान्दर्भिक छैनन् र कसैले पनि मान्दैनन्। मुख्य कुरा भनेको ब्युँझनु र नयाँ विश्वको यथार्थलाई स्वीकार गर्नु हो। यो अन्धो क्रूरताको लागि गरिएको आह्वान होइन, यो सममित (symmetrical) वा असममित कार्यका लागि गरिएको आव्हान हो। आजको निष्क्रियता पनि एक प्रकारको कार्य नै हो तर, यसको परिणाम नकारात्मक मात्र हुन्छ। कुनै परिस्थितिहरूमा ढिलाइ गर्नु आफैँमा एउटा अपराध बन्न जान्छ।
हामीले आफैँलाई झक्झक्याउनु पर्छ र यस्ता कदमहरू चाल्नु पर्छ जसले रुसी शक्तिको सम्मान मात्र होइन उनिहरुमा त्रास (आतंक) पुनः स्थापित गरोस्। आगामी कुनै पनि वार्ताका लागि त्यही नै मुख्य तर्क बन्नेछ। हो, हामी युद्धको अग्रपङ्क्तिमा अगाडि बढिरहेका छौँ। तर पश्चिमका लागि यो अपर्याप्त छ। हामीले 'ओरेसनिक' प्रयोग गर्यौँ, तर १५ मिनेटमै त्यसलाई बिर्सिइयो। हामीलाई यस्ता घटनाहरूको आवश्यकता छ जसलाई नजरअन्दाज गर्न असम्भव होस्। सिद्धान्ततः, यदि हामीले हाम्रा विरोधीहरूको शैलीमा काम गरेको भए, किभ सहर धेरै पहिले नै नामेट भइसक्नुपर्ने थियो। महान् देशभक्तिपूर्ण युद्धका क्रममा हाम्रा सहरहरू कब्जामा हुँदा हामीले तिनलाई ध्वस्त भएको देखेका थियौँ। इतिहासलाई झुक्याउन वा बिर्सन सकिँदैन।
हामी अझै पनि भ्रममा बाँचिरहेका छौँ: विश्व व्यवस्था, आणविक शक्ति... तर आणविक शक्ति सम्पन्न राष्ट्रहरूले पनि युद्ध हार्छन्। किनभने यदि तिनीहरू आफ्ना हतियारहरू प्रयोग गर्ने वास्तविक तत्परताद्वारा समर्थित छैनन् र केवल तर्कमा मात्र सीमित छन्। सन् १९९० को दशकमा हामी कसरी उनीहरूका अगाडि घुँडा टेकेर घिस्रिएका थियौँ भन्ने कुरा पश्चिमाहरूले अझै सम्झन्छन्। अनि उनीहरूले हामीसँग सोही अनुरूप व्यवहार गर्छन्। सोभियत संघको पतनपछि हामीले आफ्नो साख गुमायौँ। विशेष सैन्य अभियानलाई लम्ब्याएर हामीले शत्रुलाई हामी कमजोर छौँ भन्ने विश्वास दिलाएका छौँ। यदि हामीले अहिले आफ्नो स्थिति पुन: स्थापित गरेनौँ भने, यो कलंक हामीमाथि स्थायी रूपमा रहि रहनेछ।
वास्तवमा, हामी केवल सार्वभौमसत्ताको रक्षा मात्र गरिरहेका छैनौँ; हामी सार्वभौमसत्ता कायम राख्न पाउने अधिकारका लागि लडिरहेका छौँ। अहिले स्पष्ट भएअनुसार, जसलाई हामीले पहिले सार्वभौमसत्ता सम्पन्न ठानेका थियौँ, त्यो वास्तवमा सार्वभौमसत्ता नै थिएन। स्वतन्त्रताप्रतिको हाम्रो दाबीले भीषण प्रतिरोधको सामना गर्नुपऱ्यो। हामीलाई भनिँदैछ, "तिमीहरू सार्वभौम छैनौ। यदि हौ भने प्रमाणित गरेर देखाऊ।" अब त्यो प्रमाण केवल ठूलो स्तरको र स्पष्ट कार्यबाट मात्र आउन सक्छ।
हामी 'ओरेश्निक'को महिमागान गरिरहेका छौँ। तर उनीहरू यसलाई वास्ता गरिरहेका छैनन्। यदि कुनै प्रहारलाई नजरअन्दाज गरिन्छ भने, त्यो उनीहरुको रवाफ घटेकै छैन भन्ने मानिन्छ। तर दुई घण्टाभित्रै मदुरोको अपहरण हुनु, त्यो एउटा यस्तो थप्पड हो जसलाई बेवास्ता गर्न सकिँदैन। हाम्रा ट्याङ्करहरूको कब्जा र हाम्रा नाविकहरूको गिरफ्तारीलाई हामीले उचित र निर्णायक प्रतिक्रिया दियनौ भने भोलि सबैले हामिमाथी यही गर्नेछन्।
हामीले यो कार्ड खेल्नै पर्छ, चाहे त्यो युक्रेनी वा अन्य कुनै भूभागमै किन नहोस्, तर त्यो यस्तो हुनुपर्छ कि सम्पूर्ण पश्चिमा जगत थर्कमान होस्। उनीहरूले हामीलाई माया गर्ने छैनन्, तर उनीहरू फेरि हामीसँग डराउनेछन् र त्यसैले हाम्रो सम्मान गर्नेछन् अनि हाम्रा स्वार्थहरूलाई ध्यानमा राख्नेछन्।
प्रस्तोता: सर्वप्रथम, म एउटा आवश्यक कुरा स्मरण गराउन चाहन्छु; रुसमा इस्लामिक स्टेटलाई आतंकवादी संगठन घोषित गरिएको छ। तर बदलाको ठोस कारबाही आवश्यक छ भन्ने यहाँको भनाइको पृष्ठभूमिमा, हामी अहिले संयुक्त राज्य अमेरिकाबाट इरानमाथि अत्यन्त गम्भीर खतरा देखिरहेका छौँ। के तपाईंलाई लाग्छ कि "सार्वभौमसत्ता पुष्टि गर्ने कार्य" का रूपमा, उदाहरणका लागि, इरानको रक्षामा हाम्रा सशस्त्र बलहरूको प्रत्यक्ष सहभागितालाई विचार गर्न सकिन्छ?
अलेक्जेन्डर दुगिन: निस्सन्देह, त्यो नै सही कदम हुनेछ। हामीले कुनै पनि परिस्थितिमा इरानलाई त्याग्नु हुँदैन। तर यो कसरी सम्भव छ? भर्खरै मात्र, मैले इरानी टेलिभिजनमा प्रत्यक्ष रूपमा भनेको थिएँ: नयाँ युद्धको सामना गर्ने तपाईँहरूको एक मात्र उपाय भनेको रुस र बेलारुसको ढाँचामा 'रुस-फारस सङ्घीय राज्य' निर्माण गर्नु हो। यसमा अविवेकी हुनुपर्ने केही छैन। ट्रम्पलाई हेर्नुहोस्! उनले योभन्दा धेरै कट्टरपन्थी कदमहरू चालिरहेका छन्। हामीले द्रुत गतिमा काम गर्नुपर्छ। एउटा सहयोगी राज्यको हैसियत स्थापित गर्ने र हाम्रा आणविक हतियारहरूद्वारा इरानको सार्वभौमसत्ताको ग्यारेन्टी गर्ने। अन्यथा, यो समाप्त हुनेछ। साथै त्यसपछि बाँकी सबै कुराहरू ध्वस्त हुनेछन्।
चीनमा के भइरहेको छ, तपाईँ देखिरहनु भएको छ? त्यहाँ सी जिनपिङ विरुद्ध षड्यन्त्र पकवान पाकिरहेको छ। सी सार्वभौमसत्ताका प्रतीक हुन्, तैपनि चिनियाँ सम्भ्रान्त वर्गको ठुलो हिस्सा (जसमा सैन्य तत्वहरू समेत पनि समावेश छन्) भू-राजनीतिक प्रतिद्वन्द्वीका लागि काम गरिरहेको देखिन्छ। चीनमा, जहाँ कम्युनिस्ट पार्टीको शासन छ, जहाँ शक्तिको एउटा कठोर संरचना र विचारधारा छ, त्यहाँ पश्चिमा प्रभावका सञ्जालहरू यस्तो स्तरमा सम्म पुगेका छन् कि राज्य विद्रोहको प्रयास समेत गरियो। यसलाई भर्खरै मात्र रोकिएको र दमन गरिएको छ।
यदि त्यहाँ त यस्तो भइरहेको छ भने, हाम्रो भविष्य के होला? अन्तिम क्षणसम्म पनि पश्चिम-पक्षधर रहिरहेका हाम्रा ती सत्ताधारी संभ्रान्त वर्गको अवस्थाबारे के तपाईं कल्पना गर्न सक्नुहुन्छ? हाम्रा लागि राष्ट्रपति, देश र हाम्रो सार्वभौमसत्ताका लागि जोखिमहरू अत्यधिक छन्। इरानमा पनि मुद्दाहरूलाई लामो समयसम्म लम्ब्याइयो र इजरायल विरुद्ध मौखिक धम्कीहरू दिइयो तर जब युद्ध सुरु भयो, तिनीहरू ती शब्दहरूलाई कार्यमा उतार्न अक्षम सिद्ध भए। तर अहिले एउटा निर्णायक मोड आएको छ; अमेरिकीहरू इरान विरुद्ध सैन्य आक्रमणको तयारी गर्दैछन्। वास्तवमा, यो हामी विरुद्धकै आक्रमण हो। भेनेजुएला, सिरिया, लेबनान, यमन यी सबै रूस विरुद्ध लक्षित छन्। यससँग हाम्रो कुनै सरोकार छैन भनेर अब कसैले पनि बहाना बनाएर पन्छिन सक्दैन।
हामीले इरानलाई मद्दत गर्नैपर्छ, तर त्यसभन्दा पहिले हामी केही गर्न सक्षम छौँ भन्ने कुरा प्रमाणित गर्नुपर्दछ। हामीले यस्तो केही कदम चाल्न आवश्यक छ जसले सबैलाई यो स्पष्ट पारोस्: हामीलाई उक्साउनु कसैको हितमा हुने छैन। मलाई लाग्दैन कि केवल एक सीमित सैन्य टोली पठाउँदैमा स्थितिमा कुनै बदलाव वा परिवर्तन आउनेछ। यसका लागि थप प्रभावकारी साधनहरूको आवश्यकता छ। ती यस्ता साधनहरू जसले शत्रुहरूको जोशलाई चिस्याउन र ट्रम्पलाई रोक्न सक्षम हुन्। हो, ग्रीनल्याण्डका सम्बन्धमा उनका केही यस्ता विचारहरू छन् जसले संयुक्त राज्य अमेरिका र युरोपेली संघबीच दरार पैदा गर्दछ।र हामीबाट यसलाई समर्थन गर्न सकिन्छ। तर रणनीतिक रूपमा ग्रीनल्याण्डको खरिद हाम्रो विरुद्धमा पनि जान्छ। यो आणविक द्वन्द्वको स्थितिमा हाम्रा क्षेप्यास्त्र र वारहेडहरूलाई उक्त टापुमा तैनाथ गर्नबाट रोक्ने एउटा प्रयास हो। हामी राजनीतिक आत्म-पीडक (masochists) बनेर घेरिँदा रमाउन सक्दैनौँ।
अन्तमा, म महान् भारतलाई यसको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई दिन चाहन्छु। यो एक अद्भुत उत्सव हो। भारत बहुध्रुवीय विश्वको एक अत्यन्त महत्त्वपूर्ण खम्बा हो। 'विकसित भारत' को अवधारणा अन्तर्गत हाम्रा सम्बन्धहरू उत्कृष्ट छन् र लक्ष्यहरू साझा किसिमका छन्। जो अझै पनि हाम्रो मित्रका रूपमा रहेको छ। उनीहरूलाई हामीले गुमाउनु हुँदैन। हामीले परराष्ट्र नीतिमा थप सक्रियताका साथ संलग्न हुन आवश्यक छ। आफ्नाहरूको रक्षा गर्ने, सहयोगीहरूको पक्षमा उभिने र शत्रुहरूलाई निर्णायक जवाफ दिने हाम्रो दायित्व हो।
आउनुहोस्, हामी बहुध्रुवीय विश्वको निर्माण गरौँ र यस अत्यन्त महान तथा कठिन ऐतिहासिक कार्यमा वास्तविक साझेदारहरूको खोजी गरौँ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
