तृतीय विश्वयुद्धको अन्त्य र अविरल क्रोधको निरन्तरता
Primary tabs

तेस्रो विश्वयुद्ध समाप्त भइसकेको छ वा अझै जारी छ, आज हामीले सामना गरिरहेको विरोधाभास यही हो। विरोधाभासी सूचनाहरूको बाढीका कारण मध्यपूर्वमा युद्धविरामको अवस्था अत्यन्त अस्पष्ट रहँदै आएको छ। एकातर्फ, डोनाल्ड ट्रम्पले युद्धरत पक्षहरूबीच सहमति भएको घोषणा गर्दै तेस्रो विश्वयुद्ध टरेकोमा मानवजातिलाई बधाई दिएका थिए। यो घोषणा अमेरिकाले सार्वभौम इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेपछि गरिएको थियो। यो ट्रम्पको स्वभाविक अप्रत्याशितताको एक स्पष्ट उदाहरण हो।
तर, झट्टै पछि इजरायलले युद्धविराम घोषणा भइसकेपछि पनि इरानी क्षेप्यास्त्र आक्रमण गरेको भन्ने पत्ता लागेको भन्ने रिपोर्टहरू सार्वजनिक भए। उता, इरानको तर्फबाट पनि अन्योलपूर्ण सन्देशहरू आइरहेका छन्। विदेश मन्त्रीले तेहरानले युद्धविराममा सहमति जनाएको घोषणा गरे, तर तत्कालै स्पष्टीकरण दिँदै भने, “यो युद्धविराम होइन, केवल गोलीबारीको स्थगन मात्र हो।” यसैबीच, इजरायलले कुनै पनि समयमा सैनिक कारबाही पुनः सुरु गर्न तयार रहेको बताएको छ।
यस परिवेशमा वास्तवमै युद्ध रोकिएको हो वा होइन भन्ने विषयमा कुनै स्पष्टता छैन। यी कुरा अवस्थालाई अझ जटिल बनाउने परस्परविरोधी सूचनाहरुका प्रवाहहरू हुन्। इरान अझै पनि घटित घटनाको मूल्याङ्कन गरिरहेको देखिन्छ। के ती सैनिक अड्डाहरूमा गरिएका आक्रमणहरू केवल चेतावनी मात्र थिए? ती क्षेप्यास्त्रहरू लक्ष्यमा पुगे त? इरान र इजरायल दुबै देशभित्र कुन–कुन सैन्य संरचनाहरु आहत भए? के यी राष्ट्रहरूको नेतृत्वभित्र आन्तरिक मतभेदहरू छन्?
हामी यति धेरै विरोधाभासी सूचनाहरूको सामना गरिरहेका छौं कि यी कुनै पनि विषयकमा निष्कर्ष निकाल्नु छिटो र बुद्धिमत्तापूर्ण हुने छैन। के तेस्रो विश्वयुद्ध सुरु भइसकेको हो? वा समाप्त भइसकेको हो? वा यो केवल एक अचानक उत्पन्न संकट थियो र जसमा नयाँ "रेड लाइन" हरू पार गरिए? जहाँ इरानका आणविक स्थलहरू फेरि आक्रमणको निशाना बने, पहिलो पटक इजरायलद्वारा र त्यसपछि अमेरिकाद्वारा?
मेरो दृष्टिमा, यी सबै कुरालाई विश्लेषण गर्दा कुनै राम्रो संकेत देखिदैन। हामी पहिले नै एक विश्वव्यापी युद्ध (तेस्रो विश्वयुद्ध) को अवस्थामा छौं, जुन एकपटक सुरु भइसकेपछि सजिलै रोक्न सकिँदैन। यदि हामी दीर्घकालीन दृष्टिकोण अपनाउँछौं भने, घटनाहरू अत्यधिक तीव्र गतिमा अगाडि बढिरहेको देखिन्छ। जुन क्वान्टम यान्त्रिकीको “स्पिन” सन्दर्भमा स्मरणीय हुन्छ। जँहा कणको यति तीव्र घुमाई जसले गर्दा त्यो अवलोकनबाट अदृश्य हुन्छ।
विश्व घटनाहरूको यो क्रुद्ध गति, झुटा समाचारहरूको बाढी र राजनीतिक स्वार्थमा आधारित आख्यानहरूले थप तीव्र बनाइरहेको छ। जसले तेस्रो विश्वयुद्धलाई एकै साथ सुरु र अन्त्य दुवै अत्यन्त अत्यासलाग्दो गतिमा गराउँछ। कहिलेकाहीं त्यसको सुरु भएको हो कि अन्त्य कुन बढी उपस्थित छ भनेर भन्नै वा एकिन गर्नै सकिंदैन, किनभने त्यो द्रुत गतिको चपेटामा परेको छ।
त्यसैले, म कुनै निष्कर्ष निकाल्न वा यी घटनाहरूको अर्थ परिभाषित गर्नबाट आफूलाई रोक्न चाहन्छु। तिनीहरूको सार आफ्नो त्यो तार्किक प्रक्रियाले स्पष्ट रूपमा अन्त्यसम्म पुग्दा मात्र बुझ्न सकिन्छ। तर हामी त्यहाँ अझै पुगेका छैनौं।
अहिले आवश्यक देखिएको कुरा भनेको—घटिरहेका घटनालाई विस्तृत सन्दर्भमा राख्नु, इतिहासलाई चालित गर्ने आधारभूत शक्तिहरू, सार्वभौमिकताको अवधारणा, र निर्णय-प्रक्रियाका संरचनाहरूको बारेमा गहिरो चिन्तन गर्नु हो। हामीसँग वर्तमान राजनीतिक नाट्यप्रवृत्तिको दर्शन छैन। सबै जना टिप्पणी गर्न, प्रवृत्तिलाई पछ्याउन हतारिन्छन् तर दार्शनिक दृष्टिकोणको पूर्ण अभाव छ।
म विश्वास गर्छु, अहिलेको समय यस्ता घटनाबाट केही दूरीमा रही, वस्तुनिष्ठ ढङ्गले अवलोकन गर्ने हो। सम्भवतः त्यही दृष्टिबिन्दुबाट मात्र हामी साँच्चिकै के हुँदैछ भन्ने कुरा बुझ्न सक्षम हुनेछौं।
अनुवाद: मोहनप्रसाद ज्ञवाली